अपडेट : अझै नियन्त्रणमा आएन हेटौंडाको भुस गोदाममा लागेको आगो

तु खबर संवाददाता
२०७८ फाल्गुन १९, बिहीबार १५:५३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित रहेको एक भुस गोदाममा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गएराति ११ः ३५ बजेको समयमा स्थानीय टिकाप्रसाद कँडेलको भुसको गोदाममा अचानक लागेको आगो हालसम्म पनि नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त आगो हेटौंडा उपमहानगरपालिकाको दमकल, जितपुर सिमरा उपमहानगरपालिकाको दमकल, खैरेनी नगरपालिकाको दमकल, नेपाल आयल निगमको दुई वटा दमकल, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, बागमती प्रदेश बिपद व्यबस्थापन गुल्मबाट खटिएको टोलीले नियन्त्रणमा ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, साँझसम्म उक्त आगो नियन्त्रणमा ल्याउने तयारी भइरहेको छ । आगलागीबाट उक्त गोदाममा रहेको ५० हजार भुसको बोरा र गोदाम जलेर नष्ट भएपनि यकिन विवरण भने आउन सकेको छैन । आगलागीबाट कुनै पनि मानवीय क्षति भएको छैन ।