ग्याल्पो ल्होछारले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सघाउ पुग्छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होछारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएकी छन् । राष्ट्रपति भण्डारी बिहिबार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछारको अवसरमा सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताइन् ।
भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त नेपाल सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित रहेको राष्ट्रपतिको भनाइ छ । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गरिन् । साथै उनले ग्याल्पो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
