निर्वाचन समितिद्वारा नवनिर्वाचित सभापति लामालाई प्रमाणपत्र प्रदान
मकवानपुर । निर्वाचन समितिले कांग्रेसका नवनिर्वाचित जिल्ला सभापति बुद्ध लामालाई प्रमाणपत्र हस्तान्तरण गरेको छ । पार्टी कार्यालय हेटौंडामा मंगलबार एक कार्यक्रमको आयोजना गरी निर्वाचन अधिकृत गोपीशर्मा सुवेदीले नवनिर्वाचित लामालाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
अर्का उम्मेदवार आनन्दराम पराजुलीले हार्दिकता प्रस्तुत गर्दै सहमति जनाएपछि लामा दोस्रो चरणमा निर्विरोध निर्वाचित भएका हुन् । कांग्रेसको प्रावधान अनुसार सभापतिको उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । तर, लामा आनन्दराम पराजुली र जयराम लामिछाने तीनै जनाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सबैभन्दा बढी मत ल्याउने लामा र निकटतम प्रतिस्पर्धी पराजुली बीच दोस्रो चरणको निर्वाचन गर्नुपर्ने अवस्था बनेको थियो । तर, दोस्रो चरणको निर्वाचन नगरी सहमतिबाटै लामाको नेतृत्वमा कांग्रेसलाई अघि बढाउने सहमति भएको हो ।
प्रमाणपत्र ग्रहण गर्दै लामाले सबैलाई समेटेर अघि बढ्ने बताएका छन् । उनले आन्तरिक प्रतिस्पर्धाको चरण सकिएको भन्दै अब सबैलाई समेटेर अघि बढ्ने बताए । लामाले अहिले व्यक्तिको भन्दा पनि नेपाली कांग्रेसको जीत भएको बताए । उनले उम्मेदवार बनेका तीनै जनाको जीत भएको बताए । उनले आगामी दिनमा संगठन सुदृढीकरण र आगामी चुनावी अभियानमा अघि बढ्ने बताए ।
