कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन

तु खबर संवाददाता
२०७८ फाल्गुन १७, मंगलवार १२:२२

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन् । पहिलो चरणको मतदान अनिर्णित बनेपछि नेताहरुबीच सभापतिमा लामालाई सर्वसम्मत चयन गर्ने सहमति भएको कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले जानकारी दिए । कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार लामा, आनन्दराम पराजुलीसहितको बैठकबाट लामालाई सभापति चयन गर्ने निर्णय भएको हो । केहीबेरमै पार्टी कार्यालयमा बुद्ध लामा सभापति भएको घोषणा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सोमबार भएको पहिलो चरणको मतदानमा बुद्ध लामाले ५ सय ९२ मत प्राप्त गर्नुभएको थियो भने आनन्दराम पराजुलीले ५ सय ४५ मत प्राप्त गरेका थिए । यस्तै अर्का आकांक्षी जयराम लामिछानेले ५ सय ३१ मत प्राप्त गरेका थिए । १ हजार ८ सय ५३ मतदातामध्ये १ हजार ७ सय ७५ प्रतिनिधिले मतदान गरेका थिए । पहिलो चरणमा सभापति चयन हुन उम्मेदवारहरुले पर्याप्त मत प्राप्त गर्न नसकेपछि निर्वाचन समितिले दोस्रो चरणको मतदान मंगलबार दिउँसो १ बजेदेखि सुरु हुने सूचना प्रकाशित समेत गरिसकेको थियो ।