कांग्रेस अधिवेशनः अब सहमति कि दोस्रो चरणको निर्वाचन ?
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न मतदान अन्तरगत सभापति पदको मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । कांग्रेसको विधानमा सभापतिको उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ । सबैभन्दा बढी मत पाएको उम्मेदवार र निकटमत प्रतिस्पर्धीबीच दोस्रो चरणको चुनावी प्रतिस्पर्धा गर्ने वा सहमति गरेर टुंगो लगाउने दुवै विकल्प रहेको छ ।
मत परिणाम अनुसार सभापति पदमा बुद्ध लामाले सबैभन्दा बढी मत पाएका छन् । उनले ५९२ मत प्राप्त गर्दा अर्का उम्मेदवार आनन्दराम पराजुलीले ५४२ मत र जयराम लामिछानेले ५३१ मत पाएका छन् । जयराम झिनो मतले बाहिरिएका छन् । मकवानपुर सभापतिको लागि अब आनन्दराम र बुद्धबीच चुनावी प्रतिस्पर्धा वा सहमति दुई वटा विकल्प छ । हालसम्म सहमति वा चुनावी प्रतिस्पर्धा, के हुन्छ भन्ने एकिन भइसकेको छैन ।
स्रोतका अनुसार पहिलो चरणको निर्वाचनअघि केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलगायत शीर्ष नेताहरुसमेतको उपस्थितिमा बसेको बैठकमा बुद्ध र आनन्दराम दुवैजना पहिलो चरणको निर्वाचनको परिणाम अनुसार दोस्रो चरणमा एकअर्कालाई सहयोग गर्न सहमत भएका थिए ।
स्रोत भन्छ, ‘चुनाव अघि आनन्दराम र बुद्ध दुबैले पहिलो निर्वाचनमा आएको परिणामको आधारमा जसको बढी मत आउँछ उसैलाई सहयोग गर्ने सम्झौतासहित प्रतिवद्धता जनाउनुभएको थियो । बैठकमा केन्द्रीय सह–महामन्त्रीज्यू र प्रदेशसभापतिज्यू पनि हुनुहुन्थ्यो । दुवैजना संस्थापन पक्षको उम्मेदवार भएकोले पहिलो निर्वाचनको परिणाम अनुसार दोस्रोमा एकअर्कालाई समर्थन गर्ने सहमति भएको हो । बुद्ध वा आनन्दराममध्ये एक जना बाहिरिएमा संस्थापनपक्ष इतर पक्षसँग मिलेर चुनाव लड्ने, इतर पक्ष बाहिरिएमा संस्थापनकै दुई मध्ये जसको बढी आउँछ उसैलाई सभापति स्वीकार्ने गरी सम्झौता भएको छ ।’
सोमबारको निर्वाचनबाट संस्थापन इतर पक्षको सभापतिका उम्मेदवार जयराम बाहिरिएका छन् । अब संस्थापनकै बुद्ध र आनन्दराम सभापतिको रेसमा छन् । सम्झौता अनुसार बुद्धले सबैभन्दा बढी भोट ल्याएको कारण आनन्दरामले उनलाई सभापति स्वीकार्नुपर्ने हुन्छ । तर, आनन्दरामले चुनावी प्रतिस्पर्धा गर्ने वा बुद्धलाई सभापति स्वीकार्ने भन्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन् ।
कांग्रेस नेताहरु सम्झौता अनुसार बढी भोट ल्याएको कारण सहमतिबाटै बुद्धलाई सभापति बनाउने र दोस्रो चरणको निर्वाचन नगर्ने लभिङमा छन् । ‘कांग्रेस लोकतन्त्रलाई आधार मानेर अघि बढ्ने पार्टी हो । यहाँ नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा हुन्छ । दुबैले आफुलाई उम्मेदवारको रुपमा प्रस्तुत गर्नुभयो । परिणाम पनि सार्वजनिक भइसकेको छ । बढी मत जसले ल्याएपनि एकअर्कालाई सभापति स्वीकार्ने सम्झौता अनुसार अब आनन्दरामले बुद्धलाई छाड्नुपर्ने हुन्छ। यो उहाँहरुको प्रतिवद्धता हो । नैतिकताको विषयमा पनि हो । आनन्दरामले चुनाव लड्नै नपाउने , बुद्धलाई स्वीकार्नैपर्ने भन्ने कानूनी बाध्यता छैन । उहाँ चुनावमा जान पनि सक्नुहुन्छ । ’ संस्थापन पक्षका एक नेताले बताए ।
