कांग्रेस मकवानपुरः बुद्धले पाए सबैभन्दा बढी भोट, ११ मतले बाहिरिए जयराम

तु खबर संवाददाता
२०७८ फाल्गुन १७, मंगलवार ०७:११

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न मतदान अन्तरगत सभापति पदको मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार सभापति पदमा बुद्ध लामाले सबैभन्दा बढी मत पाएका छन् । उनले ५९२ मत प्राप्त गरेको कांग्रेस मकवानपुरले जनाएको छ ।

त्यस्तै अर्का उम्मेदवार आनन्दराम पराजुलीले ५४२ मत र जयराम लामिछानेले ५३१ मत पाएका छन् । कांग्रेसको विधानमा सभापति पदमा ५१ प्रतिशत मत अनिवार्य भएकोले निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । अब सबैभन्दा बढी मत पाउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच दोस्रो चरणको मतदान हुने भएको हो । बुद्ध र पराजुली दोस्रो चरणको निर्वाचनमा जाँदैछन् । ११ मतले जयराम बाहिरिएका हुन् ।

लामा र पराजुली दुवै संस्थापन पक्षकै उम्मेदवार हुन् । दोस्रो चरणको निर्वाचनमा संस्थापन इतर समूहको सहयोग पनि निर्णायक रहने बुझिएको छ । कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, नेतृ रिता खनाल, उमा दाहाललगायतले खुलेरै जयरामलाई सहयोग गरेका थिए । अब उनीहरुको सहयोग संस्थापन पक्षका आनन्द वा बुद्ध, कसलाई लाई हुन्छ भन्ने कांग्रेसजनमा चासोको विषय बनेको छ ।