सभापति पदको सकियो मतगणना: निर्वाचन दोस्रो चरणमा धकेलियो, जयराम बाहिरिए

तु खबर संवाददाता
२०७८ फाल्गुन १७, मंगलवार ०६:५५

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा तीनै जना उम्मेदवारको ५१ प्रतिशत मत नपुगेपछि चुनाव दोस्रो चरणमा धकेलिएको छ । कांग्रेसको विधानमा सभापति निर्वाचित हुन ५१ प्रतिशत मत आवश्यक पर्दछ । अब सबैभन्दा बढी मत पाउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच पुन दोस्रो चरणको मतदान हुने भएको छ ।

सोमबार राति सम्पन्न मतगणना अनुसार बुद्ध लामाले ५९२, आनन्द पराजुलीले ५४२ र जयराम लामिछानेले ५३१ मत पाएका थिए । अब दोस्रो चरणको निर्वाचनमा पराजुली र लामा चुनावी मैदानमा होमिँदै छन् । लामा र पराजुली दुवै संस्थापन पक्षकै उम्मेदवार हुन् । दोस्रो चरणको निर्वाचनमा संस्थापन इतर समूहको सहयोग पनि निर्णायक रहने बुझिएको छ ।