कांग्रेस मकवानपुरको मतदान २ घण्टा पर सर्यो

तु खबर संवाददाता
२०७८ फाल्गुन १६, सोमबार ०९:१९

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तरगत आज हुने मतदान २ घण्टा पर सरेको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान १० बजेदेखि मात्रै सुरु हुने भएको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जानकारी दिए ।

उनका अनुसार, मतदान स्थलको व्यवस्थापन र नेपाल बन्दको प्रभावका कारण  मतदानको समय सरेको हो । आइतबारदेखि सुरु भएको कांग्रेस मकवानपुरको अवधिवेशन हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ डल्फिन चौरमा हुँदैछ ।

आज सोमबार हुने चुनावमा एक सभापति पदका लागि ३ जना, २ जना उपसभापति पदका लागि ७ जना, २ जना सचिव पदका लागि ६ जना र २ जना सहसचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । सभापति पदमा हालका सचिव बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका निर्वतमान सभापति आनन्दराम पराजुली र जयराम लामिछानेले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा लामा र पराजुली संस्थापन पक्ष निकट हुन् भने लामिछाने संस्थापन इतर पक्षका हुन् ।

आज हुने मतदानमा मकवानपुरका १०२ वटा वडासभापति, क्षेत्रिय सभापति एवम् प्रतिनिधि र बुथ प्रतिनिधि गरी करिब १ हजार ९ सय जना मतदाता सहभागी हुनेछन् ।