कांग्रेस मकवानपुरको अधिवेशन आज, यस्तो छ निर्वाचन तालिका
मकवानपुर । नेपाली कांग्रेसकोे १४ औँ महाधिवेशन अन्तरगत आज मकवानपुरको अधिवेशन हुँदैछ । जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार आज हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोल लोकप्रिय होटल अगाडि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
उनका अनुसार विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६ः३० बजे हुने र मतदान भने फागुन १६ गते विहान ८ बजेबाट सुरु हुनेछ । कांग्रेस मकवानपुरको नेतृत्वमा हालसम्म आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् ।
बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना कार्यबाहक सभापति विष्णु लामिछानेको नेतृत्वमा सहमतिको प्रयास गरिरहेका छन् । सहमति जुटेमा, लामिछानेलाई सभापति बनाउने, निर्वाचन गर्नेपर्ने अवस्था आएमा लामालाई उम्मेदवार बनाउने संस्थापन पक्षको तयारी छ । लामिछानेको नेतृत्वमा लामासहित संस्थापन इतरपक्षका जयरामसमेत ब्याक हुन तयार रहेको अवस्थामा पराजुलीले उम्मेदवारी कायमै राख्ने अडान लिएपछि चुनाव हुने निश्चित जस्तै भएको हो ।
