लामाको उम्मेदवारी घोषणा सभामा लामिछाने प्रमुख अतिथि
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने जिल्ला अधिवेशनको लागि सभापति पदमा पार्टीका सचिव बुद्ध लामाले कांग्रेसका आम कार्यकर्तासमक्ष आज उम्मेदवारी घोषणा गर्दैछन् । उनले उम्मेदवारी घोषणा गर्न आयोजना गरेको कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने प्रमुख अतिथिको रुपमा उपस्थित भएका छन् ।
मकवानपुरमा आफ्नो नेतृत्वमा सहमतिमै अधिवेशन सम्पन्न गर्न प्रयासरत लामिछाने लामाको उम्मेदवारी घोषणासभामा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुलाई निकै चासोका साथ हेरिएको छ । संस्थापन पक्षबाट सभापतिका लागि आकांक्षी लामा र लामिछानेले एकापसमा सहमति गरी चुनावमा जाने चर्चा चलिरहेको बेला यी दुबै एकै ठाउँमा उपस्थित हुनुलाई चासोको साथ हेरिएको हो ।
त्यस्तै, सभापतिका अर्का आकांक्षी प्रभातकुमार दाहाल पनि कार्यक्रमको अग्र भागमा देखिएका छन् । कार्यक्रममा कांग्रेसका नेताहरु लोक मुक्तान, प्रकाश बर्तौला, दिलबहादुर भोम्जन, रन्जन कालाखेती, गोपिलाल विश्वकर्मा, प्रदिप कोइराला, सन्जीव श्रेष्ठ, राजेन्द्र घिसिङ, राजविर मोक्तानलगायत नेताहरुको उपस्थिति रहेको छ ।
