कमल थापाले विगतमा धेरै गल्ती गरेको भन्दै माफी मागे
काठमाडौं । राप्रपा नेपाल घोषणा गरेका कमल थापाले विगतमा धेरै गल्ती गरेको भन्दै माफी मागेका छन् । उनले शनिबार राप्रपा नेपालको घोषणा गर्दै आफुहरुले पाँच वर्षयता बाटो बिराएको र धेरै गल्ती गरेको भन्दै माफी मागेका हुन् ।
उनले पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक–पटक सरकारमा जानु गल्ती भएको बताए । उनले भने ‘आज राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु, विगतमा गरेको गलत सम्झौताको परिणाम भोगिसक्यौं ।’
थापाले आफूले ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगेको बताए । ‘पार्टीको नेतृत्वको नाताले मैले ठीक ढंगले अघि बढ्न नसक्दाखेरि, गलत प्रवृत्तिसँग सम्झौता गर्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुग्यौं । यो सम्पूर्ण जिम्मेवारी मेरो हो’ उनले भने । केही दिनअघि मात्रै राप्रपा परित्याग गरेका थापाले शनिबार राप्रपा नेपालको घोषणा गरेका हुन् ।
