एमसीसीले राष्ट्रिय राजनीतिलाई जटिल मोडतर्फ धकेल्यो– मुख्यमन्त्री पाण्डे

तु खबर संवाददाता
२०७८ फाल्गुन ७, शनिबार १०:२६

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्दप्रसाद पाण्डेले यतिबेला राष्ट्रिय राजनीति जटिल अवस्थामा पुगेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले विदेशी अनुदान सहायता एमसीसीको विषयलाई लिएर राष्ट्रिय राजनीति जटिल बन्दै गएको बताए ।

नेपाली जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त उपलब्धीको रक्षा जनहितको काम गर्नुपर्ने समयमा विदेशी अनुदान सहायताको विषयले राष्ट्रिय राजनीतिलाई नै जटिल मोडतर्फ धकेलेको पाण्डेको भनाई छ । अनुदानले नेपाली राजनीतिलाई विवाद अप्ठेरोमा पुर्याइदिएकोमा चिन्ता व्यक्त गर्दै उनले यो समस्याको समाधान मिलेर गर्नुपर्ने सुझाव दिए ।

उनले जनबलमा प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्दै जनताप्रति थप उत्तरदायी भएर जनहितका कार्य गर्नुपर्नेमा जोड दिए । पाण्डेले बागमती प्रदेशलाई समृद्ध तुल्याउन प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाई दत्तचित्तले लागिरहेको उल्लेख गरे । उनले अब बागमतीलाई डिजिटल एवम् उज्यालो प्रदेश बनाउने बताए ।