बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईं बर्खास्त

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १६:३३

मकवानपुर । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँ पदमुक्त भएका छन् । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नदिएको भन्दै चौलागाईँलाई बर्खास्त गरेको हो ।

त्यस्तै उनले पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृति वेगर लोगो तथा स्लोगन सार्वजनिक गरेको, ऐन कानूनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधिहरु गर्दै गएको कारण बर्खास्त गर्नुपरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले जानकारी दिए ।

२०७८ जेठ २७ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका थिए ।