फागुन १३ गते कांग्रेस मकवानपुरको अधिवेशन नहुने
मकवानपुर । कांग्रेस मकवानपुरको आसन्न फागुन १३ गतेको लागि तय भएको जिल्ला अधिवेशन केही दिन सर्ने निश्चित भएको छ । पूर्व महामन्त्री महेन्द्रनारायण नीधिको जन्मजयन्ती परेकोले केही दिन निर्वाचन सार्न नेता विमलेन्द्र निधिले प्रस्ताव गरेपछि अधिवेशन सर्ने निश्चित भएको हो ।
अधिवेशन हुन बाँकी १६ वटा जिल्लाकै अधिवेशन फागुन १३ गते नहुने भएको हो । स्रोतका अनुसार कांग्रेस सभापति, उपसभापति तथा महामन्त्रीहरु केही दिन अधिवेशन सार्न सहमत भएका छन् । ‘फागुन २० भित्रै मकवानपुरको अधिवेशन हुने संभावना छ, अहिले नै एकिन भन्न सकिने अवस्था भने छैन । तर, फागुन १३ गतेको लागि तय भएको अधिवेशन सर्ने भने पक्का हो । ’ स्रोतले तु खबरलाई भन्यो ।
प्रदेश २ का अधिकांशसहित १६ जिल्लाको अधिवेशन निधिको जन्म जयन्तीका कारण अब फरक–फरक मितिमा हुने भएको हो । फागुन २० भित्रै अधिवेशन सम्पन्न गर्ने गरी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका संशोधनको तयारी गरिरहेको बुझिएको छ । निर्वाचन समितिका अनुसार, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ ।
