बागमती प्रदेशः फागुन १६ गते प्रदेशसभा बैठक बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको ९ औँ अधिवेशन बैठक आउँदो फागुन १६ गते बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा आज बसेको सर्वदलीय बैठकबाट आउँदो फागुन १६ गते दिनको १ बजे प्रदेशसभा बैठक बस्ने सहमति भएको उनले बताए । सचिव खड्काका अनुसार प्रदेशसभाको बैठकअघि फागुन १५ गते कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । दिनको १ बजे आह्वान गरिएको बैठकले प्रदेशसभा बैठकको कार्यसूचि तय गर्नेछ ।
आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत अन्य दलहरुको संसदीय दलको नेता तथा संसदीय समितिको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारले आवश्यक भन्दा बढी मन्त्रिपरिषद् विस्तार गरेको, राष्ट्रिय गौरवको आयोजनाहर कटौती गरेको भन्दै त्यसको औचित्य पुष्टिको मागसहित संसद् अवरुद्ध पार्दै आएको थियो । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले त्यसको जवाफ दिनुपर्ने एमालेले अडान लिएको थियो ।
