बागमतीका प्रदेश प्रमुख शर्माको बुधबार मुटुको शल्यक्रिया, आइतबार डिस्चार्ज हुने

तु खबर संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १७:१६

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको बुधबार मुटुको शल्यक्रिया भएको छ । उनी मंगलबार शहिद गंगालाल ह्रृदय रोग प्रतिष्ठान बाँसबारीमा भर्ना भएका थिए । उनको मुटुमा ८ वर्ष अगाडि राखिएको पेस मेकर परिवर्तन गर्न शल्यक्रिया गरिएको शर्माका प्रमुख स्वकीय सचिव पारमणी फुयालले जानकारी दिएका छन् ।

मुटुमा समस्या भएको कारण शर्माले लामो समयदेखि पेस मेकरको सहायता लिँदै आएका छन् । उनलाई शल्यक्रिया पछि पनि केही दिन बेड रेष्ट आवश्यक भएकोले २/४ दिन अस्पतालमा नै राखेर उपचार गरिने प्रमुख स्वकीय सचिव फुयालले बताए । उनले भने ‘प्रदेश प्रमुख ज्यूको आज मुटुको शल्यक्रिया भएको छ, अस्पतालले २/४ दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने बताएको छ । आइतबार भित्रै डिस्चार्ज गर्ने अस्पतालले जानकारी दिएको छ । उहाँ हप्तादिन भित्रै नियमित काममा फर्कनुहुन्छ ।’