मकवानपुरको मनहरीमा सामुदायिक आँखा केन्द्रको उद्घाटन

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १८:१९

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ मा सामुदायिक आँखा केन्द्रको उद्घाटन गरिएको छ । मनहरी गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको २ महिनापछि सामुदायिक आँखा केन्द्रको उद्घाटन गरिएको हो ।

उक्त केन्द्रको मंगलबार एक कार्यक्रमबीच मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र हेटौंडा आँखा अस्पतालका केन्द्रीय सदस्य सिद्धिलाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । गाउँपालिकाले २ जना कर्मचारी र भवनको भौतिक सुधार गर्ने गरी प्रत्येक दिन सेवा सुविधा उपलब्ध गराउने गरी आँखा केन्द्रको उद्घाटन गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

आँखा केन्द्रका लागि होण्डाई मोटर फाउन्डेसन र योङसाई विश्वविद्यालय दक्षिण कोरियाले २० लाख रुपैयाँ बराबरको उपकरण उपलब्ध गराएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालले यसअघि बागमती गाउँपालिकामा पनि आँखा केन्द्र संचालनमा ल्याएको थियो ।