छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु
रुपन्देही । लुम्बिनी प्रदेशमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । प्रदेशको कपिलवस्तु, बर्दिया, रुपन्देही र बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सवारी दुर्घटनामा परेर २ जना, करेन्ट लागेर १ जना र डुबेर १ जनाको मृत्यु भएको हो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–३ ववनीस्थित सडकमा लु.३२ प ४७८० नम्बरको मोटरसाइकल र प्रदेश २–०३–०२१ प ९६०२ नम्बर स्कुटर एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–८ बस्ने २५ वर्षीय नमु पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बर्दियाको बारबर्दिया नगरपालिका–८ रम्बापुरस्थित सडकमा रोकी राखेको अनटेष्ट लेखिएको जेसिबीमा कर्णाली प्रदेश २ –००१ प २४६१ नम्बरको मोटरसाइकल ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका–९ घर भएका २३ वर्षीय धनबहादुर चौधरीको मृत्यु भएको छ । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान गररहेको जनाएको छ ।
यसैगरी, रुपन्देहीको कञ्चन गाउँपालिका–३ हरैया बस्ने २६ वर्षीया चमेली थापाको करेन्ट लागेर मृत्यु भएको छ । थापा आफ्नै घरमा पानी चलाउने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । घाइते उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यता, बाँकेको जानकी गाउँपालिका–४ मुनिजर पुरुवास्थित चाँद इँटा भट्टा नजिकै पानी जम्मा हुने खाल्डोमा डुबेर भारत पुरम्पुर घर भई सोही इँटा भट्टामा काम गर्ने जाहीद साहको १ वर्षीया छोरी सबिना साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
