आज सर्वदीय बैठक बस्दै, एमालले बहिस्कार गर्ने
काठमाडौं । आज सर्वदलीय बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे बस्ने भएको सभामुखको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । तर, सो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको जनाएको छ । एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए ।
‘एमाले त्यो बैठकमा जाँदैन । किनभने सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ । उहाँसँगै असहमति रहिरहेका बेला फेरि उहाँले नै बोलाएको बैठकमा जानुको अर्थ रहँदैन’, तामाङको भनाइ छ । नेकपा एमाले उच्च स्रोतका अनुसार एमालेले आजै सभामुख सापकोटाविरुद्ध महाभियोग प्रस्ताव लैजाने तयारी समेत गरेको छ ।
