हेटौंडामा एमसीसीविरुद्ध प्रदर्शन
मकवानपुर । नेकपा एकीकृत समाजवादीमा आबद्ध जनवर्गीय संगठनहरुको आयोजनामा आइतबार हेटौंडामा एमसीसीविरुद्ध प्रदर्शन भएको छ । शितलमहलचोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको हो ।
एमसीसीविरुद्ध पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने विरोध कार्यक्रमअन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरेको जनाइएको छ । सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । पन्तले केपी ओली सरकारले संसदबाट पास गर्नुपर्ने सम्झौता गरेर एमसीसी राष्ट्रघाती काम गरेकाले यो परियोजना कुनै हालतमा कार्यान्वयन गर्न नहुने बताए ।
यस्तै, अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताउँदै एमसीसीलाइ टुंगो नलाग्दासम्म आफूहरु आन्दोलित भइराख्ने चेतावनी दिए । विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णुप्रसाद दाहाललगायतको उपस्थिति रहेको थियो ।

