आज हेटौंडामा एमसीसीविरुद्ध प्रदर्शन हुने
मकवानपुर । नेकपा एकीकृत समाजवादीमा आबद्ध जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आज (आइतबार) एमसीसीविरुद्ध प्रदर्शन गरिने भएको छ । मध्यान्ह १२ बजे हेटौंडाको शितलमहलचोकबाट सुरु हुने प्रदर्शन बुद्धचोक हुँदै सिमाचोकमा फर्किएर सभामा परिणत गर्ने आयोजकको तयारी छ ।
पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि कार्यक्रम गर्न लागिएको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पाख्रेलले जानकारी दिए । एमसीसी परियोजना राष्ट्रघाती हुने भएकाले नेपालमा यो कार्यान्वयन नगर्न दबाब दिने उद्देश्यले विरोधको कार्यक्रम राखिएको अध्यक्ष पोख्रेलको भनाई छ ।
विरोध प्रर्दशनमा सहभागी हुनका लागि एकीकृत समाजवादी मकवानपुरले आम सर्वसाधारण, नागरिक समाज, बुद्दजिवी, पत्रकार, युवा, विद्यार्थीलगायत राष्ट्रहित चाहने सरोकारवालालाई आग्रह गरेको छ ।
