कांग्रेस मकवानपुर अधिवेशनः शीर्ष नेताहरु लामिछानेको नेतृत्वमा सहमति जुटाउँदै
मकवानपुर । कांग्रेस मकवानपुरको अधिवेशन आगामी फागुन १३ गतेको लागि तय भएसँगै यहाँको राजनीति गर्माएको छ । सभापति पदमा ४ जना आकाँक्षी देखिएपछि पार्टीको नेतृत्व कसले गर्ला भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ । हालसम्म पार्टी सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र सल्लाहकार जयराम लामिछानेले सभापति पदमा औपचारिक रुपमै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
उनीहरुले प्रचारप्रसार कार्यालय स्थापना गरी चुनावी अभियानलाई अघि बढाइरहेका छन् । सभापति पदमा त्रिपक्षीय भिडन्तको संभावना देखिएको बेला कांग्रेसको राजनीतिले नयाँ मोड लिएको छ । कार्यबाहक सभापति लामिछानेले पनि सभापतिमा दावी गरेसँगै पार्टीको राजनीतिले नयाँ मोड लिएको हो ।
कार्यबाहक सभापति लामिछानेले सबैको सहमति जुटाएर आफुले जिल्लाको नेतृत्व गर्ने धारणा सार्वजनिक गरेका छन् । उनले आफु उपसभापति हुँदै कार्यबाहक सभापति पनि भइसकेकोले एक पटक सभापति भएर काम गर्ने इच्छा भएको बताउँदै आएका छन् । पार्टीलाई चुस्त दुरुस्त बनाउँदै संगठनलाई मजबुद बनाउने र आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरलाई कांग्रेसमय बनाउने लक्ष्यका साथ उनले सभापति पदमा आफुलाई उभ्याएका छन् । उनले सबै पक्षलाई समेटेर सहमतिबाटै कार्यसमिति चयन गर्नुपर्ने अडान लिएका छन् ।
कांग्रेस मकवानपुरको राजनीतिमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना निर्णायक मानिन्छन् । तर, बानियाँ र डीनाले भने हालसम्म कसलाई सहयोग गर्ने भन्ने बारे सार्वजनिक रुपमा धारणा व्यक्त गरिसकेका छैनन् । स्रोतका अनुसार स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहेको बेला आन्तरिक प्रतिस्पर्धाले पार्टीभित्रै विवाद बढाउने र विभिन्न गुट–उपगुटको निर्माण गर्ने भएकाले सहमतिबाटै अधिवेशन सम्पन्न गर्ने पक्षमा बानियाँ र डीनाको एकमत रहेको छ ।
‘कांग्रेस प्रजातान्त्रिक मूल्य मान्यतालाई विश्वास गर्ने पार्टी हो, हामी फरक विचार र मतको सम्मान गर्छौँ । एक भन्दा बढीको उम्मेदवारी परेको अवस्थामा स्वच्छ तरिकाले निर्वाचन गर्ने कुरा छँदैछ । तर, यसपाली सहमतिबाटै जिल्ला समिति चयन हुन्छ । प्रदेशसभापतिज्यू र केन्द्रीय सह–महामन्त्रीज्यूलगायत जिल्लाका शीर्ष नेताहरु सहमतिकै लागि लभिङ गरिरहनुभएको छ, कार्यबाहकको रुपमा काम गरिसक्नु भएकोले विष्णुजीकै नेतृत्वमा पार्टी अघि बढ्छ ।’ स्रोतले भन्यो ।
‘उम्मेदवारी घोषणा गर्नुभएका बुद्ध जीले अन्तिमसम्ममा विष्णुजीलाई सहयोग गर्नुहुन्छ । आनन्दरामजीलाई पार्टीले हेटौंडा उपमहानगरपालिकाको मेयरको रुपमा अघि बढाउँदैछ । उहाँले कि त पार्टी सभापति कि त मेयर दुईमध्ये एक रोज्नुपर्ने हुन्छ । त्यसकारण अब उम्मेदवारी दिइहाल्नुभयो भो भने जयरामजीले मात्रै हो । तर, सबैलाई समेटेर अघि बढ्ने सन्दर्भमा उहाँपनि बाधक हुनुहुन्न होला भन्ने हाम्रो विश्लेषण हो ।’ स्रोत भन्छ ।
