बैशाख मसान्तसम्ममा सबै नागरिकले कोभिड खोप पाउँन्छन् : मन्त्री खतिवडा

तु खबर संवाददाता
२०७८ माघ २८, शुक्रबार १५:३८
file-photo

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आगामी बैशाख मसान्तसम्ममा १२ वर्षमाथिका सबै नेपाली नागरिकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइसक्ने बताएका छन् । मन्त्री खतिवडाले आफ्नो कार्यकालको एक सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

उनले यसअघि १८ वर्षमाथिका नागरिकलाई चैत्र मसान्तभित्र खोप लगाइसक्ने लक्ष्य रहे पनि १२ वर्षमाथिका बालबालिकाका लागि खोप आएकाले समय लम्ब्याइएको बताए । ‘विसं २०७९ बैशाखसम्म लक्षित समूह सबैलाई खोप लगाइसक्ने हाम्रो लक्ष्य छ । पहिले चैत्र महिनासम्म लगाइसक्ने लक्ष्य थियो । तर, अब लक्षित समूहमा १२ वर्षमाथिका पनि समेटिएकाले एक महिना लम्ब्याइएको छ,’ खतिवडाले भने ।

मन्त्री खतिवडाले आगामी फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने जानकारी दिए । ‘यसअघि हामीले फ्रन्टलाइनरलाई मात्र बुस्टर डोज दिने भनेका थियौं । अब फागुन १ गतेदेखि १८ वर्षमाथिका दोस्रो डोज लगाएको ६ महिना पूरा भइसकेका सबैलाई बुस्टर डोज दिन्छौं,’ उनले भने । साथै उनले हालसम्म १२ वर्ष भन्दामाथिको लक्षित जनसंख्याको ७७ प्रतिशतले पहिलो मात्रा र ६९ प्रतिशतले पूर्ण खोप पाइसकेको जानकारी गराए ।