जंगली हात्तीबाट प्रभावित परिवारलाई कांग्रेसको राहत, बानियाँद्वारा घर बनाइदिने प्रतिवद्धता

तु खबर संवाददाता
२०७८ माघ २६, बुधबार १८:४१

सिन्धुली । नेपाली कांग्रेस बागमती प्रदेश समितिले जंगली हात्तीबाट प्रभावित सिन्धुली जिल्लाका १ सय ४० परिवारलाई नगदसहित खाद्यान्न सहयोग उपलब्ध गराएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जिल्लाकोे विभिन्न क्षेत्रमा पुगेर आज पीडित परिवारलाई राहत उपलब्ध गराएका हुन् ।

सिन्धुलीको कमलामाइ नगरपालिका वडा नम्वर १३ र १४ अन्तरगत पर्ने रानीवास चन्दनपुरलगायत क्षेत्रका ७७ परिवार, दूधौली नगरपालिका वडा नम्वर १, २, ३, ६ र ११ को झुगा तीनतले माथिल्लो फुटेपानी, कालापानी, लवा, माथिल्लो पत्रिङ्गालगायतका स्थानका ६३ घरपरिवारलाई राहत उपलब्ध गराइएको हो । उनीहरुलाई प्रति परिवार ५ हजारसहित ब्लाङ्केट, एक बोरा चामल, नुन, तेल, दाललगायत खाद्यान्न सहयोग गरिएको हो ।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति बानियाँले कांग्रेस जनताको पीर मर्का तथा अप्ठेरो परिस्थितिमा सदैव साथ सहयोग गर्न तत्पर रहेको बताए । उनले प्रदेशवासीको समस्यालाई कांग्रेसले आफ्नो समस्या ठानेको भन्दै त्यसको सम्बोधनमा आफु निरन्तर लागिरहने प्रतिवद्धतासमेत व्यक्त गरे । ‘जंगली हात्तीबाट प्रभावित भएका जतिपनि घर परिवारहरु छन्, हामी प्रदेश सरकारसँग समन्वय गरेर यहाँहरुको पीडामा मल्हम पट्टी गर्ने प्रयास गर्नेर्छौँ । यहाँहरुको भत्किएको घर पुनः निर्माण गरिने म प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।’ उनले भने ।

राहत वितरण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे, कांग्रेस बागमती प्रदेशका उपसभापतिद्वय मोहन बस्नेत र चन्द्र महर्जन, महामन्त्रीद्वय कञ्चनचन्द्र वादे र राजु श्रेष्ठ सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ र जीवन डंगोल, सिन्धुली जिल्ला सभापति उज्ज्वल बराललगायत उपस्थित थिए । सिन्धुलीमा जंगली हात्तीले केही दिन अघि यहाँका स्थानीयको घर भत्काउनुको साथै बालिनालीसमेत नष्ट गरेको थियो ।