एमसीसी सम्झौताविरुद्ध हेटौंडामा प्रदर्शन
मकवानपुर । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै सम्भौताविरुद्ध विभिन्न राजनीतिक दलले मंगलबार हेटौंडामा विरोध प्रदर्शन तथा कोणसभा गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो ।
हेटौंडाको बुद्धचोकबाट नाराबाजी गर्दै सीमाचोकमा कोणसभा गरिएको थियो । विरोध प्रदर्शनका क्रममा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘ ’अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘हत्या–हिंसा बन्द गर’, ‘महिला हिंसा बन्द गर’, लगायतका नारा लगाइएका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका जिल्ला सदस्य गुण सिंह रुम्बा, राष्ट्रिय जनमोर्चा मकवानपुरका इन्चार्ज रामहरी धिताललगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

