बेमौसमी वर्षाका कारण ५ जनाको मृत्यु, ११ जना घाइते
२०७८ माघ २२, शनिबार १७:०२
काठमाडौं । देशभर बिहिबार शुक्रबार परेको अविरल वर्षाका कारण पाँच जनाको ज्यान गएको छ । यही माघ २१ गतेदेखि २२ गते बिहानसम्म परेको वर्षाका कारण पाँच जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापक प्राधिकरणले जनाएको छ ।
मृत्यु हुनेमा धनुषाका दुई जना, सुर्खेतका एक जना, सल्यानका एक जना र रौतहटका एक जना रहेका छन् । जसमा एक बालक, एक बालिका र तीन जना महिला रहेका छन् । उक्त अवधिमा २८ वटा विपद्का घटनामा ११ जना घाइते हुनुका साथै करिब ९४ लाख बराबरको अनुमानित क्षति पुगेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापक प्राधिकरणले जनाएको छ । वर्षाका कारण ५ स्थानमा सडकमा अवरोध पुगेको छ भने ३ चौपाया पनि मरेका छन् ।
