मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक
मकवानपुर । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले प्रथम १०० दिनको अवधिमा गरेका काम तथा उपलब्धीहरु आज सार्वजनिक गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस अवधिमा मन्त्रिमण्डलाई पूर्णता दिई नेपालको संविधानको पूर्ण पालना गर्दै प्रदेशवासीको हित, विकास र सुशासनको प्रत्याभूति, सङ्घीय शासन प्रणालीको सबलीकरण, न्यायपूर्ण, विभेद रहित, समतामूलक समाज निर्माण र सबल एवं समृद्ध प्रदेश निर्माणको सङ्कल्पका साथ प्रदेश सरकारले काम गरेको र थुप्रै उपलब्धी हाँसिल भएको बताए ।
प्रदेश सरकारले गठवन्धनमा सहभागी दलहरूको सहभागितामा प्रभावकारी सेवा प्रवाह, दीगो विकास निर्माण, सन्तुलित आर्थिक विकास, उत्पादन तथा रोजगारी प्रवर्द्धन, गरिबी निवारण, शासकीय सुधार, भष्ट्राचार निवारण, सुशासन प्रवर्द्धनलगायत उद्देश्य पुरा गर्न प्रदेशको स्रोत, साधन, सामर्थ्य र संयन्त्रलाई प्रभावकारी ढंगले र अभियानकै रुपमा परिचालन गर्ने नीति सहितको बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम, २०७८ तर्जुमा गरी कार्यान्वयन मा ल्याइएको समेत उनले बताए ।
उनले यो अवधिमा प्रदेश सरकारको निर्णयलाई प्रभावकारी कार्यान्वयन एवम् व्यवस्थित गर्न मन्त्रिपरिषद् समितिका संयोजक तथा सदस्य तोक्ने कार्य गरिएको, प्रदेश सरकारको सचिवालय तथा प्रशासनिक भवनहरु निर्माण गर्न प्रशासकीय भवनका लागि जग्गा पहिचान समिति गठन गरी आवश्यक कार्य अघि बढाइएको, कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रण सम्बन्धी व्यवस्था गर्न कोभिड– १९ व्यवस्थापन प्रदेश निर्देशक समिति गठन गरी आवश्यक कार्य अघि बढाइएको बताए ।
त्यस्तै मुख्यमन्त्रीको अध्यक्षता र नेपाल सरकारका मुख्य सचिवको उपस्थितिमा सात वटै प्रदेशका प्रमुख सचिवको सहभागितामा अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भई प्रदेशका समस्या तथा समाधानका सम्बन्धमा ११ बुँदे प्रतिबद्धता पत्र जारी गरिएको उल्लेख गरे ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम कार्यान्वयनलाई समय सीमा भित्र सम्पन्न गर्नका लागि विषयगत मन्त्रालयले तयार गरेको एकीकृत नीति तथा कार्यक्रम कार्यान्वयनको माइलस्टोन तर्जूमा गरी कार्यान्वयनमा ल्याइएको पाण्डेको भनाई छ । प्रदेशमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सङ्गठन संरचना र दरबन्दी तेरिजसहितको संक्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण” स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।
प्रदेशका पदाधिकारी तथा कर्मचारीलाई नीति निर्माण, सेवा प्रवाह लगायतको विषयमा क्षमता अभिवृद्धि गर्न बागमती प्रदेशको क्षमता विकास योजना, २०७८ को मस्यौदा तयार गरिएको जनाइएको छ । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका कृषकहरूलक्षित गहुँबालीको बीउमा राहत वितरण सम्बन्धी कार्यविधि,२०७८ स्वीकृत गरी कृषकहरूलाई गहुँको बीउ एवम् मलमा अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइएको पाण्डेले उल्लेख गरे । यस अवधिमा कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी ढंगबाट संचालन गरिएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।
सरकारको उपलब्धी सार्वजनिकीकरण कार्यक्रममा, आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेललगायत प्रदेशका अन्य मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिवलगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
हेर्नुहोस् प्रदेश सरकारले सार्वजनिक गरेको उपलब्धिहरु
