११ वर्षमा ६ हजारले लिए रातो पासपोर्ट

तु खबर संवाददाता
२०७८ माघ २१, शुक्रबार ०९:२८

काठमाडौं । सरकारले ११ वर्षमा करिब ६ हजार कूटनीतिक राहदानी (रातो पासपोर्ट) जारी गरेको छ । राहदानी विभागको तथ्यांक अनुसार सन् २०१० को डिसेम्बर यता ५ हजार ८४८ वटा रातो पासपोर्ट जारी भएको हो । यी सबै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भएको विभागका महानिर्देशक डोरप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार विगतमा हस्तलिखित रुपमा कूटनीतिक पासपोर्ट जारी भए पनि अहिले कुनै पनि प्रकारका हस्तलिखित पासपोर्ट प्रयोग गरेर विदेश यात्रा गर्न पाइँदैन । सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जान तोकिएका पदाधिकारीलाई सम्बन्धित संवैधानिक निकाय वा मन्त्रालय वा सचिवालय वा अदालत वा कार्यालयबाट लेखी आएमा विभागले कूटनीतिक राहदानी जारी गर्न सकिने व्यवस्था छ ।