सोनाम ल्होसारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपछि भण्डारीले ल्होछारको अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ र यस प्रकारका चाडपर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्दै मौलिक पहिचान अभिवृद्धि गर्नसमेत सहयोग पुर्याइरहेको बताइन् ।
“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु” शुभकामना सन्देशमा भनिएको छ ।
