मुख्यमन्त्री पाण्डेको अहंकार धेरै दिन टिक्दैन – सभामुख श्रेष्ठ

तु खबर संवाददाता
२०७८ माघ १८, मंगलवार १३:४७

मकवानपुर । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेमा अहंकार धेरै भएको र त्यसले दुर्घटना निम्त्याउने भन्दै अहंकार त्याग्न आग्रह गरेका छन् । बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सव समापन समारोहलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले शान्ति स्थापना गर्नको लागि सहकार्य र सह–अस्तित्वको भावना हुनुपर्नेसमेत बताए ।

अहंकारले मान्छेलाई अगाडि बढ्न नदिने भन्दै सभामुख श्रेष्ठले मुख्यमन्त्री पाण्डेलाई शालिन भएर समग्र प्रदेश र प्रदेशवासीको हितका लागि काम गर्न आग्रह गरे । स्थानीय निर्वाचन र एमसीसीको विषयमा सत्ता गठबन्धन मित्रै असमझदारी बढ्दै गएको भन्दै सभामुख श्रेष्ठले मुख्यमन्त्रीको अहंकार धेरै दिन नटिक्ने बताए ।
सभामुखले सम्बोधन गर्नुपूर्व मुख्यमन्त्री पाण्डेले सभामुखको हैसियत राजनीतिक दलको कार्यकर्ता मात्रै भएको टिप्पणी गरेका थिए । उनले सभामुखले समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचनासमेत गरेका थिए । पाण्डे पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यमाथि पनि कड्किए । शाक्यले आफुलाई संसदीय मर्यादा सिकाउन जरुरी नभएको समेत उनले बताए ।