जङ्गली हात्तीले लियो कार्कीको ज्यान
काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान ज्यान गएको छ । हात्तीको आक्रमणबाट ७५ वर्षीय खम्बासिंह कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ३ बजे घरको बरन्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते कार्कीको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ ।
