मकवानपुरमा २ लाख १७ हजारले लगाए पूर्ण मात्रामा कोरोना विरुद्धको खोप

मकवानपुर । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने नागरिकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । हालसम्म पूर्ण मात्रामा खोप लगाउनेको सख्या २ लाख १७ हजार २ सय १२ जना पुगेको छ । खोपको पहिलो मात्रा लगाउनेको भने केही बढी रहेको छ । करिब ७३ हजारले पहिलो खोप मात्रै लगाएको र दोस्रो लगाउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
पछिल्लो समयमा कोरोना संक्रमण फेरी फैलन थालेसंगै कोरोना भाइरस विरुद्धको खोप लगाउनेहरु पनि बढ्दै गएका हुन् । मकवापुरको हेटौंडा उपमहानगरपालिका सहित १० वटै स्थानीय तहका स्वास्थ्य संस्थामा कोरोना विरुद्ध खोप लगाउने कार्य भइरहेको समेत स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाउने उमेर समूह, मिति, स्थान, समय, वा खोप सम्बन्धी अन्य जुनसुकै जानकारी लिनुपरेमा आफ्नो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत अपिल गरिएको छ ।