सहज रुपमा सिटामोल उपलब्ध गराउन सर्वोच्चको आदेश
मकवानपुर । सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सहज रुपमा सिटामोल औषधिको उपलब्ध गराउने व्यवस्था मिलाउन अल्पकालीन आन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सिटामोल अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिट निवेदनमाथि न्यायाधीश शर्माको इजलासमा सुनुवाइ भएको हो । इजलासले सिटामोलको अभाव हुनुमा कारण देखाउनसमेत विपक्षीहरूलाई समेत आदेश दिएको छ । यसका साथै दुबै पक्षलाई अन्तरिम आदेश जारी गर्नुपर्ने या नपर्ने भन्नेबारे छलफलका लागि समेत बोलाएको छ ।
