अख्तियारको अनुसन्धान अधिकृत नै असुली धन्दामा !

तु खबर संवाददाता
२०७८ माघ ११, मंगलवार १२:४३
file-photo

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा कार्यरत छँदा विवादमा तानिएका अनुसन्धान अधिकृत कृष्ण सुवेदीले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक तथा उपभोक्ता समितिलाई धम्क्याएर रकम असुली गर्ने गरेको खुलेको छ । गत बर्ष माघमा हेटौंडाबाट आयोगको इटहरीस्तित कार्यालयमा सरुवा भएका सुवेदीले सप्तरी जिल्लाका विभिन्न स्थानीय तहका योजनाहरुमा कुनै कैफियत देखिए धम्क्याएर रकम असुली गर्ने गरेको खुलेको हो । सुवेदीबाट पीडित भएकाहरुले उजुरी दिएपछि उनीमाथि आयोगलले छानविन अघि बढाएको छ ।

सुवेदीले रकम असुल्न फोन र फेसबुक एकाउण्टसमेत प्रयोग गर्ने गरेको पाइएको छ । उनले पहिला कार्यालयकै ल्याण्डलाइनबाट फोन गरेर धम्क्याउने र पछि मोवाइलबाट फोन गरी ‘कर्तव्य मानव’ नामको फेसबुक एकाउण्टमा जोडिन आग्रह गर्ने गरेका थिए । सो फेसबुक एकाउण्टमा उनले पृथ्वीनारायण शाहको तस्वीर प्रोफाइलमा राखेका थिए । उक्त एकाउण्टबाट उनले रकम बार्गेनिङ् गर्ने गरेका थिए । एक पटक रकम लिएका कर्मचारी, उपभोक्ता समिति र पदाधिकारीहरुलाई यसअघि गरेको फेसबुक च्याट र फोन संवादको रेकर्डिङ सुनाउँदै उनले पुनः धम्क्याउने गरेका थिए ।

सुवेदीबाट आफू अख्तियारको अनुसन्धान अधिकृत रहेको र भ्रष्टाचारको आरोपमा जेल चलान गरिदिने धम्की दिनहुँजसो आउन थालेपछि केही कर्मचारीले सुवेदीकै फोनको अडियो रेकर्ड तथा फेसबुक च्याटको भिडियो बनाई अख्तियारमा उजुरी दिएका थिए । सुवेदीबाट मानसिक प्रताडना पाएको उल्लेख गर्दै उजुरी दिएपछि सुवेदीले कर्तव्य मानव नामक फेसबुक एकाउण्टसमेत बन्द गरेका छन् ।

उजुरीपछि सुवेदीलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट केन्द्रीय कार्यालय तानिएको थियो । गएको मंसिर २२ गते उनी रवाना लिएर सुनसरीकै जिल्ला प्रशासन कार्यालयमा गएका छन् । सुवेदीले हेटौंडामा कार्यरत छँदा पनि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरुलाई अनावश्यक दुख दिने, धम्क्याउने, रकम बार्गेनिङ् गर्ने गरेको यहाँका जनप्रतिनिधिहरुको गुनासो छ ।