मकवानपुरका १६६ जनामा कोरोना पुष्टि, कहाँ कति ?
मकवानपुर । मकवानपुरमा थप १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (सोमबार) एकैदिन १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा ४४२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज १४० जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, थाहानगरपालिकाका १२ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका ११ जना र बकैया गाउँपालिकाका १ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १७ हजार २ सय २९ जना पुगेको छ ।
यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका १३ जना र मनहरी गाउँपालिकाका ७ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ४ सय १५ जना पुगेका छन् । यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १७० जनाको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म हेटौंडाका १ सय २२ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
