जिल्ला प्रशासन कार्यालय मकवानपुरको सेवामा कटौती
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज (शुक्रबार) देखि लागू हुने गरी सेवा कटौती गरेको छ । प्रशासनले बिहिबार एक सुचना जारी गर्दै कार्यालयका केही कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) देखापरेकोले सो कार्यालयबाट प्रवाह हुने सेवा कटौती गरेको जनाएको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेद्वारा जारी सुचनामा जिल्लामा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सो कार्यालयका केही कर्मचारीलाई संक्रमण पुष्टि भएकोले कार्यालयबाट प्रवाह हुने सेवाहरुलाई केही दिनका लागि कटौती गरिएको उल्लेख छ । प्रशासनले कार्यालयको प्रवेशद्धार बिहान ९ः३० बजेपछि मात्र खुल्ने भएको हुनाले सो समयभन्दा अगाडि कार्यालय परिसरमा आई भिडभाड नगर्न र कार्यालयमा सेवा लिन आउँदा अनिवार्य रुपमा खोप लगाई खोप कार्ड समेत लिई अन्य स्वास्थ्यका मापदण्डहरु पालना गरेर मात्र कार्यालयमा प्रवेश गर्न भनिएको छ ।
यसगैरी, प्रशासनले राहदानीको बायोमेट्रिक गर्न आउँदा अनिवार्य अनलाइन एप्वाइन्टमेट लिएर मात्र कागजातहरुसहित आउन, राष्ट्रिय परिचय पत्र बनाउन राहदानीको अनलाइन एप्वाइन्टमेट लिएका व्यक्तिहरु मात्र सो सम्बन्धी कागजातहरुसहित आउन र नयाँ नागरिकता, प्रतिलिपि नागरिकता लगायतका अन्य सेवाहरु अति आवश्यक भएका प्रमाण भएमा मात्र दिइने भएको छ ।
