राष्ट्रियसभा चुनावका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड
काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ । निर्वाचन आयोगले कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्येनजर गर्दै स्वास्थ्य मापदण्ड लागु गरेको हो ।
आयोगले बिहीबार विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायतसरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
आयोगको निर्देशनअनुसार मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाउनुपर्नेछ भने अनिवार्य रुपमा मास्क पनि लगाउनुपर्नेछ । मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था समेत गर्न आयोगले निर्देशन दिएको छ ।
