मौलिक चाडपर्व सामाजिक सद्भाव र एकताको प्रतिक होः स्वास्थ्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले देशका विभिन्न भागहरुमा आ–आफ्नो विशिष्ट सांस्कृतिक विश्वास र परम्पराका रुपमा मनाइँदै आएको माघे संक्रान्ति ( मकर संक्रान्ति) , नरहरी पर्व, माघी पर्वलगायतको उपलक्ष्यमा समस्त नेपालीहरुमा शुभकामना दिएका छन् । उनले कोरोना संक्रमणको जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन गरेर चाडपर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह समेत गरेका छन् ।
उनले मौलिक चाडपर्वहरु सामाजिक सद्भाव र एकताको उदाहरण भएको उल्लेख गर्दै यस्ता पर्वहरुले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्नेसमेत विश्वास व्यक्त गरे । उनले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा मिल्नेसमेत उल्लेख गरे ।
