प्रधानमन्त्रीद्वारा सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न अपिल

तु खबर संवाददाता
२०७९ माघ १, आईतवार ०९:२०
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् ।

थारू तथा मगर समुदायलगायत समुदायले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा एक शुभकामना सन्देश दिंदै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले यस पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न तथा यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरको रूपमा मनाउन अपिल गरेका छन् ।

नेपालीको बिचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले यस अवसरमा मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान साझा पहिचान भएको बताए ।

नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व रहेको र त्यसले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डद्वारा जारी सन्देशमा भनिएको छ, ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न–भिन्न भेग र समुदायमा भिन्न–भिन्न ढङ्गले मनाउने प्रचलन छ ।’