भारतमा एकैदिन २ लाख ४५ हजारमा कोरोना पुष्टि, ३७९ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष २९, बिहीबार १०:०७
filr-photo

भारत । भारतमा बुधबार एकैदिन २ लाख ४५ हजार ५२५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै देशमा हालसम्म ११ लाख ११ हजार सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाख बढी पुगेको यो पहिलो पटक हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ८४ हजार ४७९ जना निको भए भने ३७९ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३.६३ करोड जनसङ्ख्या कोरोना सङ्क्रमित भइसकेका छन् । यसमध्ये ३.४७ करोड सङ्क्रमणमुक्त पनि भइसकेका छन् । भारतमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ४ लाख ८५ हजार ३६ जनाको मृत्यु भइसकेको छ ।

यता, भारतको राजधानी नयाँ दिल्लीमा सङ्क्रमण दर बढेर २६.२२ प्रतिशत पुगेको छ । यसअघि मे ५ मा दिल्लीको सङ्क्रमण दर २५ प्रतिशत पुगेको थियो । कोरोनाभाइरसको सङ्क्रमणबाट भारतका सबैभन्दा प्रभावित ५ राज्यहरूमा महाराष्ट्र, पश्चिम बंगाल, दिल्ली, तमिलनाडु र कर्नाटक रहेका छन् ।