हेटौंडामा निःशुल्क बन्ध्याकरण शिविर हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङस्थित नेपाल परिवार नियोजन संघमा निः शुल्क महिला तथा पुरुष बन्ध्याकरण शिविर हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर र नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको संयुक्त आयोजनामा आगामी माघ ७ गते बन्ध्याकरण शिविर हुन लागेको हो ।
एक वा दुई सन्तान भएका दम्पतीले शिविरमा सेवा लिन सक्ने नेपाल परिवार नियोजन संघ मकवानपुरकी शाखा प्रबन्धक ममता श्रेष्ठले जानकारी दिइन् । कार्यक्रममा जिल्लाभित्र बाहेकका मानिसहरुले पनि सेवा लिन पाउने उनले बताइन् । कार्यक्रममा सेवा लिनेलाई जनही २ सय रुपैयाँका दरले यातायात खर्चसमेत प्रदान गरिने भएको छ ।
यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित देविटार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आज बुधबार परिवार नियोजनको अस्थायी साधन ईम्प्लान्ट र आ.यू.सि.डि.को स्याटलाईट सेवा सञ्चालन हुने बताइएको छ ।
