केपी ओलीको अडानले मात्रै दोस्रो संविधानसभा जारी हुन सक्यो : दाहाल
मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर सह–ईन्चार्ज तथा मकवानपुर क्षेत्र नंम्वर १ का सांसद कृष्ण प्रसाद दाहालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अडानले दोस्रो संविधानसभाबाट संविधान जारी हुन सकेको बताएका छन् । मंगलबार पूर्वी मकवानपुरको बकैया–१० मन्थलीको धुवाँकोटमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनको सो कुरा बताएका हुन् ।
सांसद दाहालले एमालेको अडानले मात्र संविधान जारी हुन सफल भएको बताएका हुन् । उनले संविधान जारी नगर्न देशी विदेशी शक्ति सक्रिय रहेको अवस्थामा अध्यक्ष ओलीको अडानले संविधान जारी हुन सकेको बताए । २०६४ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बहुमतको सरकारले पहिलो संविधानसभाबाट संविधान बनाउन नसकेपछि दोस्रो संविधानसभामा एमाले देशको दोस्रो शक्तिको रुपमा उदाउँदा पार्टी अध्यक्ष ओलीको अडानको कारण संविधान जारी हुन सकेको स्मरण गरे ।
‘जनताको संविधान ल्याउन कांग्रेस,माओवादी लगाएतको राजनीतिक दलको भूमिका रेहको छ तर संविधान जारी नगर्न विभिन्न चलखेल रहेको अवस्थामा एमालेको अडानले मात्र संविधान जारी हुन सक्यो ।’ उनले भने, ‘अध्यक्ष ओलीले अडान नलिएको भए संविधान आउँदैथो,संविधान बनेपछि भारतले नाकाबन्दी लगायो । नाकाबन्दी पछि ओली सरकारमा आएर ९ महिनासम्म नाकाबन्दीलाई सामाना गरेर,नाकाबन्दी खोले । ओली सरकारमा रहँदा गुमेको भूमि नक्सा सार्वजनिक देखि देशमा चौतर्फी राजमार्ग विस्तार,बिद्युतिकरण,स्वास्थ्य श्रेत्रमा महत्वपूर्ण कामहरु भयो ।’
उनले आफु सांसद भएदेखि यहाँको विकास निर्माणको कामहरुलाई अघि बढाउँदै लगिरहेको बताए । उनले आउँदो एक वर्ष भित्र बकैयाको सबै वडामा विद्युत पुग्ने समेत बताए । उनले कृषिलाई जिविको पार्जनलाई मात्र नलिई व्यवसायीकरण गर्न समेत आग्रह गरे । उनले विदेशमा गर्ने परिश्रम स्वदेशमै गर्नुपर्ने बताउँदै स्थानीय,प्रदेश र केन्द्र सरकारले अनुदान दिईरहेको बताए । उनले एमाले ‘सुखी नेपाली र समृद्ध नेपाल’ को अभियानमा निरन्तर अघि बढेको बताए ।
मंगलबार बकैया–१० कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता रघुनाथ लामिछानेसहित एक दर्जन विभिन्न पार्टीका सक्रिय सदस्यहरु एमाले प्रवेश गरेका थिए । उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी, नेपाली कांग्रेस परित्याग गर्दै बुद्धिमान दियाली,सुमित्रा दियाली, सोम बहादुर बिक, सुर्य वाईवा, सुनमाया स्याङ्तान, गोकुल खड्कालगायत एक दर्जन एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई सांसद दाहालले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
