संचारमन्त्री कार्की आइसोलसनमा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । सत्ता गठबन्धनका नेताहरूमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संचारमन्त्री कार्की आइसोलेसनमा बसेका हुन् । शनिबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहभागी हुँदै आएका थिए । शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा मन्त्री कार्की सहभागी थिए । अघिल्लो दिन बिहीबार सत्ता गठबन्धनको बैठक बसेको थियो । मन्त्री कार्कीले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् । आइतबार कोरोना परीक्षण गराउने मन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
