यी स्थानहरुमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ । बुधबार देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एक÷दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
