१४ औँ महाधिवेशनले एकता र रुपान्तरणको सन्देश प्रवाह गरेको छः बानियाँ

तु खबर संवाददाता
२०७८ पुष १९, सोमबार १९:२०

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले १४ औँ महाधिवेशनले उत्साह, एकता र रुपान्तरणको सन्देश प्रवाह गरेको बताएका छन् । उनले अब सबै लोकतन्त्रका पक्षधरहरु एकजुट भएर कांग्रेसलाई देश र जनताप्रति थप जिम्मेवार तथा जनताको भरोसा र विश्वासको पार्टी बनाउनुपर्ने बताए ।

प्रदेश समितिलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले नवनिर्वाचितहरुले प्राप्त गरेको प्रमाणपत्र विजयको नभई जिम्मेवारीको भएको बताए । उनले आन्तरिक निर्वाचनबाट जिम्मेवारी पाउनेले सबैको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने बताए ।

‘यो उत्सवको प्रमाणपत्र होइन । जिम्मेवारीको प्रमाणपत्र हो, हाम्रै परिवारमा कसैले नेतृत्व पायौँ कसैले पाएनौँ । यो ठुलो कुरा होइन, नेतृत्व पाउनेले नपाउनेसंग पनि सल्लाह, सुझाव लिएर मात्रै काम गर्छौँ । सबैको मत र भावनालाई सम्मान गर्दै लोकतन्त्रलाई बचाउन, संविधानको रक्षा गर्न हामी सदैव लागिपर्नेछौँ ।’ उनले भने ।

उनले संघीयताको मर्म अनुसार नै कांग्रेसले प्रदेश संरचनालाई पूर्णता दिएको पनि उल्लेख गरे । बागमती प्रदेश समितिले पार्टीमा भएको गुट उपगुटको अन्त्यका लागि पदल गर्दै केन्द्र तथा अन्य प्रदेशसंग सहकार्य गर्दै वडातहसम्म समन्वय गरेर अघि बढ्ने उनले बताए ।

कार्यंक्रममा निर्वाचन अधिकृत केशवराज काफ्लेले प्रदेश समितिका नवनिर्वाचित सभापति, पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसरमा बैठकमा प्रदेश समिति उपसभापति मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र बादे, जीवन डंगोल, सह–महामन्त्री ऋषिराम घिमिरे, हरिसरण श्रेष्ठल े, प्रदेशसभा सदस्य नरोत्तम बैद्य, भीमसेन खत्री, कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रवक्ता प्रदिप कोइराला, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याललगायतको उपस्थिति रहेको थियो ।

प्रमाणपत्र वितरण कार्यक्रम अघि कांग्रेस बागमती प्रदेश समितिको प्रथम बैठकको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा ४० जनाले रक्तदान गरेका थिए । आजै बागमती प्रदेश समितिको बैठक समेत बसेको छ ।