गठबन्धन बैठकः राष्ट्रियसभाका १९ सिटमा भागबण्डा टुंगियो, कस्लाई कति ?
काठमाडौं । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको नेकपा एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसालले जानकारी दिए । उनका अनुसार, आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद विदा हुँदैछन् ।
एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनित एक जना सांसद विदा हुने क्रममा छन् । रिक्त हुन लागेको उक्त सिटमध्ये कांग्रेसलाई ६, माओवादी र एकीकृत समाजवादीलाई ५÷५, जसपालाई २ र जनमोर्चालाई एक सिट बाँडिएको जनाइएको छ । राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा निर्वाचन हुँदैछ ।
