सगरमाथा सहकारीको बचत ७ करोड ८७ लाख
मकवानपुर । हेटौंडा–४, पारिजातपथमा रहेको सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष आयुष कुमार डोटेलको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष साथै बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा बोल्दै बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले सहकारी क्षेत्रमा पनि यस सहकारीमा जस्तै सक्षम युवा नेतृत्वको आबश्यकता रहेको औल्याउदै सहकारीले निकै फड्को मारि रहेको बताए । साधारणसभामा सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष डोटेलले आर्थिक वर्ष २०७७÷७८ मा सेयर पुँजी ९३ लाख ६८ हजार रुपैयाँ रहेको जानकारी दिए ।
यस्तै सहकारीले ७ करोड ८७ लाख रुपैयाँ बचत संकलन गर्नुका साथै ५ करोड ५४ लाख रुपैयाँ ऋण लगानी गरेको जानकारी दिए । हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम शर्मा पौडेलको विशेष आतिथ्यता रहेको कार्यक्रममा संस्थाका लेखा समिति संयोजक उमेश पुरीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाको अवसरमा सहकारीका संस्थापक अध्यक्ष भुवन कुमार भट्ट,असल ऋणी सरस्वती सापकोटा, उत्कृष्ट बचतकर्ता रमेश मानन्धरलाई सम्मान गरेको छ । कार्यक्रममा सहकारीका कानुनी सल्लाहाकार मुकुन्द अधिकारी ,नेफ्स्कुन मकवानपुरका प्रतिनिधी,नबलपुर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रमेश बर्तौला लगायतको उपस्थिती रहेको थियो ।
