पूर्वसांसद रायमाझी एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं । नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवम् पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए ।
विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीको भनाई छ । उनले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने बताए । पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझी तत्कालीन नेकपामा विवाद हुँदा माधव नेपाल–प्रचण्ड पक्षमा थिए । तर, एमाले विभाजनपछि भने उनी एमालेमै रहेका थिए ।
उनीसँगै एमाले जिल्ला कमिटी सदस्यहरू धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बराल एकीकृत समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले बताए । बराल गत स्थानीय चुनावमा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएर झिनो मतले पराजित भएका थिए । पौडेल साबिकको छहरा गाविस अध्यक्ष हुन् ।
