हेटौंडामा मनाइयो तमु ल्होसार
मकवानपुर । हेटौंडा उपहानगरपालिका वडा नम्वर ११ स्थित शहिद स्मारकमा बिहिवार तमु ल्होसार वर्ष मनाइएको छ । तमु ह्युल छोँज धीँ (गुरुङ् राष्ट्रिय परिषद्) मकवापुरको आयोजनामा ल्होसार मनाइएको हो ।
कार्यक्रम गुरुङ राष्ट्रिय परिषद् मकवानपुरका अध्यक्ष अमिर तमुको अध्यक्षता तथा गुरुङ् राष्ट्रिय परिषद् केन्द्रिय सदस्य जंगबहादुर तमुको प्रमुख आतिथ्यतामा भएको हो । ल्वों बर्गलाई बिदाई गर्दै तो बर्गलाई स्वागत गर्दै अग्रज व्यक्तिबाट टीका लगाएर शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा अन्दाजी २ सय गुरुङहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गुरुङ् राष्ट्रिय परिषद् केन्द्रिय सदस्य जंगबहादुर तमुले साँस्कृतिक विविधताले भरिएको मुलुक भएकोले सबैको सस्कृतलाई जर्गेना गर्नुपर्ने बताए । तमुको संस्कार सबैले भुल्दै गएको हुँदा सबैले त्यसको अध्यन गरेर आफनो पर्व मनाउदै अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा आदिवासी जनजाती महासंघ मकवापुरका अध्यक्ष तिर्थबहादुर थापा मगर, संरक्षक पुष्प गुरुङ, थारु कल्याणकारी सभाका अध्यक्ष हरिलाल चौधरी , आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष अशोक सुजन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
