कांग्रेसको मकवानपुर अधिवेशनः को–को छन् आकांक्षी ?
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन पुस २७ गते हुने भएको छ । कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकले मकवानपुरसहित १६ जिल्लाको अधिवेशनको मिति तोकेको हो । प्रदेश २ का ८ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन बाँकी रहेको निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।
मकवानपुरमा कांग्रेसले १०२ वटै वडा र १० वटै पालिकास्तरको अधिवेशन सम्पन्न गरिसकेको छ । जिल्लाको क्षेत्रीय अधिवेशन, प्रदेश अधिवेशन र संघीय अधिवेशनसमेत सम्पन्न भइसकेको छ । मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभापति पदमा निर्वाचित भएका छन् । २७ गते हुने अधिवेशनमा मकवानपुरका आधा दर्जन नेताहरुले सभापति पदमा आकांक्षा देखाएका छन् ।
जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, पूर्व सभापति रघुरमण न्यौपाने, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, कांग्रेस नेता अशोक शाक्यलगायतको नाम सभापतिको चर्चामा छ । यद्यपी कसैले पनि आधिकारिक रुपमा उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।
